१९ कात्तिक, काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–११ बाट विभिन्न प्रकारका हतियारसहित एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली टिकापुर–१ का ३२ वर्षीय शिवराज धमलालाई नियन्त्रणमा लिएको हो।
धमला ‘पठाओ राइडर’का रूपमा काम गर्दै आएका थिए। उनको साथबाट प्रहरीले स्वचालित इन्सास राइफल, सर्टगन र पेस्तोल बरामद गरेको जनाएको छ।
कार्यालयका प्रवक्ता एसपी काजिकुमार आचार्यका अनुसार ती हतियारहरू गत भदौ महिनामा जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएका मध्येका हुन्।
उक्त आन्दोलनका क्रममा १ हजारभन्दा बढी हतियार सुरक्षाकर्मीबाट लुटिएका थिए भने तीमध्ये करिब ५ सय अझै फेला परेका छैनन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र लुटिएका अन्य हतियार खोजी कार्यलाई तीव्र बनाइने जनाएको छ।





