समाचार

खड्का ल्याण्ड प्रालिलाई नेपाल स्काउटको अन्तिम चेतावनी

२० कात्तिक, काठमाडौँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र त्यहाँ रहेका संरचनाको भाडा सात दिनभित्र तिर्न प्रयोगकर्तालाई औपचारिक चेतावनी दिएको छ। तोकिएको समयभित्र भाडा भुक्तानी नभएमा, सम्बन्धित जग्गा र भवन जफत गरिने चेतावनी दिएको हो।

प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि यदि तोकिएको समयभित्र भाडा भुक्तानी नभएमा, सम्बन्धित जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामग्री जफत गरिनेछ। जफतबाट पनि नपुग्ने रकम कानूनी प्रक्रिया अनुसार घरघराना वा जायजेथाबाट असुल गरिनेछ।

जानकारी अनुसार, उक्त जग्गा खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको थियो। तर भाडा नतिरेकाले नेपाल स्काउटलाई आर्थिक क्षति पुगेको प्रधान कार्यालयले जनाएको छ।

यसअघि यो जग्गा कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनीद्वारा कब्जा गरिरहेको भन्ने आरोप उठ्दै आएको छ। नेपाल स्काउटले प्रयोगकर्तालाई सात दिनभित्र भाडा बुझाउन अन्तिम मौका दिएको जनाएको छ।

हेर्नुहोस् स्काउटले आज निकालेको सूचना: