समाचार

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ

२३ कात्तिक, घोराही (दाङ) । दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।

घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँ निवासी २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र अर्का १८ वर्षीय विवेक पुन मगर रहेका छन् । त्यसैगरी सल्यान छत्रेश्वरी गाउँपालिका–४ निवासी २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ निवासी २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुर निवासी शरद् बस्नेत र घोराही–१३ निवासी २५ वर्षीय सन्दीप घर्ती रहेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सरकारी कार्यालय तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।