समाचार

निर्वाचन प्रचारप्रसार १५ दिनका लागि निर्धारित

काठमाडौँ, २४ कात्तिक । निर्वाचन आयोगले फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि तयारी तीव्र बनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्रतापूर्वक अघि बढाएको हो। प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी गरिएको छ।

निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अद्यावधिक कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। सोही भित्र दलहरूले निर्वाचनमा भाग लिन आवश्यक प्रमाणपत्र लिनुपर्नेछ।

राजनीतिक दलले मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्न सक्नेछन् र दर्ता गरेपछि उम्मेदवार खडा गर्न सक्नेछन्। निर्वाचन कार्यक्रम स्वीकृति र नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते गर्ने तयारी छ।

मतदाता नामावली अद्यावधिक मंसिर १ देखि पुस १५ सम्म हुनेछ। समानुपातिक निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय मंसिर १५ गते स्थापना हुनेछ भने मतदान स्थल तथा केन्द्र पुस १५ गते राजपत्रमा प्रकाशित गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पुस १८ र १९ गते पेश हुनेछन्। निर्वाचन अधिकृतको कार्यालय २०८२ माघ २ गते स्थापना हुनेछ भने संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ माघ २ देखि फागुन ३० सम्म सञ्चालन हुने प्रारम्भिक तालिका बनाइएको छ।