समाचार

‘प्रचण्डलाई पत्र’: पूर्वसेक्युरिटी कमान्डरले तोडे सम्बन्ध

२७ कात्तिक, काठमाडौं । पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ त्यागेका छन्।

पाण्डेले संगठनमा वस्तुवादी विधि नअपनाइएको र नयाँ नेतृत्व निर्माणमा प्रचण्डले साहसिक निर्णय लिन नसकेको भन्दै पार्टीको साधारण सदस्य पदबाट समेत राजीनामा दिएका हुन्।

केन्द्रीय संयोजकलाई लेखेको पत्रमा उनले उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद पनि त्यागेको उल्लेख गर्दै लेखेका छन्, “माथि लाग्ने आरोपहरूको राजनीतिक प्रतिवाद गर्न तयार छु, तर पार्टीमा रहँदा इमान बेचिनँ, कुनै व्यक्तिगत फाइदा लिइनँ।”

प्रचण्डको सुरक्षा फिर्ता भएपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली उनको सुरक्षामा खटिएको थियो।