२७ कात्तिक, पाटन (ललितपुर) । गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको वैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आआफ्नो धारणा राखेका थिए ।
पार्टीको बैठक यही कात्तिक २९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी आजको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिए । बैठकपछि प्रतिक्रिया दिनुहुँदै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको महाधिवेशन सम्पन भएर चार वर्षको कार्यकाल पूरा भएको अवस्थामा विशेष महाधिवेशन हुँदैन भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्छ भन्नेमा जोड दिए ।
केन्द्रीय सदस्य राजीव कोईरालाले पार्टीको बैठकमा सबैले आआफ्नो धारणा राख्नुभएको जानकारी गराउँदै जनसरोकारका विषष र देशको परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ भने । उनले पार्टीभित्र असल नेतृत्वको खोजी भइरहेको बताए ।
पार्टीको आन्तरीक विषयमा छलफल गनुपरेकोले शुक्रबार गुड फ्राईडेको रुपमा बिदा राखिएको छ ।





