२८ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक ललितपुरस्थित सानेपा, धाेबीघाटमा दिनकाे १ बजे बस्ने बताईएको छ ।
निर्वाचनअघि विशेष महाधिवेशन, नियमित महाधिवेशन गर्ने वा निर्वाचनपछि गर्ने भन्ने विषयमा संस्थापन पक्ष र वरिष्ठ नेता डा शेखर कोइराला, गगन थापा, तथा पूर्ण बहादुर खड्का समूहबिच विवाद भइरहेका बेला विवाद मिलाउन र सहमति जुटाउने प्रयास स्वरूप कार्यसम्पादन समितिको बैठक बस्न लागेको एक नेताले सुर्यखबरलाई बताए ।
हिजो महामन्त्री गगन कुमार थापाले कुनै हालतमा विशेष महाधिवेशन गर्ने भन्ने धारणा राखेका छन् भने वरिष्ठ नेता डा शेखर कोइरालाले नियमित महाधिवेशनकाे माग गरेका छन्, त्यसैगरी संस्थापन पक्ष निर्वाचन पछाडि महाधिवेशन सार्ने पक्षमा देखिएको छ ।
फागुन २१ गते निर्वाचन घोषणा भइसकेको समयमा महाधिवेशन गर्न निर्वाचन अघि नभ्याइने तर्क संस्थापन पक्ष्यको छ भने महाधिवेशन गर्न इच्छाशक्ति भए निर्वाचन अघि महाधिवेशन गर्न नभ्याइने कल्पना पनि गर्न नसकिने गगन थापाले भनेका छन् ।
यसै बीचमा सहमति जुटाउने प्रयास स्वरूप महाधिवेशनको मिति टुङ्गो लगाई शनिवारको केन्द्रीय कार्य समिति बैठकबाट पास गर्ने तयारी गरिएको छ । कार्यसमितिको बैठक बसिरहेको जानकारी उपसभापति धनराज गुरुङले जानकारी दिए ।





