२८ कात्तिक, काठमाडौं । राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता प्रक्रिया सुरु भएको पहिलो दिनमै अनलाइन प्रणाली अवरुद्ध भएपछि सेवाग्राही समस्यामा परेका छन्। बिहीबारदेखि सुरु भएको दर्तामा एकैपटक अत्यधिक आवेदन परेपछि सिस्टम ह्याङ्ग भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अत्यधिक चापका कारण अनलाइन सेवा सुचारु हुन नसकेको र आईटी विज्ञको टोलीले समस्या समाधानमा काम गरिरहेको छ। राष्ट्रिय परिचयपत्र विभाग र आयोगको प्राविधिक टिमले संयुक्त रूपमा प्रणाली मर्मत र अप्टिमाइजेसन गरिरहेको बताइएको छ।
अनलाइनमार्फत दर्ता गर्न खोज्ने धेरैले लामो समय प्रयास गर्दासमेत फारम नबुझेको वा स्वीकृत नभएको गुनासो गरेका छन्। आयोगले प्रणाली छिट्टै सामान्य अवस्थामा ल्याइने आश्वासन दिएको छ।





