समाचार

प्रवासी नेपालीलाई भोट अधिकार: अध्यादेश ल्याउन सरकार तयारीमा

३० कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार दिलाउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ। मतदाता नामावलीमा नाम भइसकेका तर विदेशमै बसेका नेपालीले समानुपातिक प्रणालीमा भोट हाल्न पाउने व्यवस्था गर्न गृह मन्त्रालयले तयार पारेको अध्यादेश मस्यौदा कानुन मन्त्रालयमा पठाइएको हो।

मस्यौदामा मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन, निर्वाचन कसुर तथा सजाय, र निर्वाचन आयोगसम्बन्धी चारवटा ऐन संशोधन प्रस्ताव छन्। संशोधन पारित भए दूतावास तथा नियोगलाई मतदान केन्द्र तोक्ने, त्यहीँका कर्मचारीलाई मतदान अधिकृत नियुक्त गर्ने व्यवस्था लागू हुनेछ।

नेपालभित्रै रहेर आफ्नै क्षेत्रबाहिर बस्ने नागरिकलाई मतदान सुविधा दिने विषय भने छुटे पनि त्यसबारे छलफल जारी छ। आवश्यक परिमार्जनपछि अध्यादेश मन्त्रिपरिषद् हुँदै राष्ट्रपतिबाट जारी भई राजपत्र प्रकाशित भएपछि लागू हुने छ। यो प्रक्रिया एक साताभित्रै पूरा गर्ने तयारी गरिएको कानुनी अधिकारीहरूले बताएका छन्।

एक दशकअघि सर्वोच्च अदालतले विदेशस्थित नेपालीलाई मताधिकार सुनिश्चित गर्न आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन। जेनजी आन्दोलनपछि बनेको सरकारले भने फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै सो आदेश कार्यान्वयनतर्फ कदम बढाएको हो।