३० कात्तिक, काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे भएको छलफल सकारात्मक दिशामा अघि बढेको छ।
शनिबार पेरिसडाँडामा बसेको बैठकमा वैचारिक र सैद्धान्तिक विषयमा विस्तृत कुराकानी भएको र वार्ता निरन्तरता दिने सहमति भएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बताए। छलफलमा जसपातर्फबाट राजेन्द्र श्रेष्ठको टोली र नेकपातर्फबाट हमाल, देव गुरुङ र वर्षमान पुन सहभागी भएका थिए।
छलफलपछि जसपाले मंसिर १ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा अध्यक्ष अशोक राईका अनुसार बैठकले आगामी चुनावमा एकता गरेर जाने कि मोर्चा बनाएर जाने भन्नेबारे निर्णय गर्नेछ।
यसैविच अशोक राई नेतृत्वको जसपाले नेपाली कम्युनिस्ट पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पार्टी एकता विषयमा छलफल गरेको छ। छलफलको प्रगतिबारे निर्णय लिन जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको र आगामी चुनावमा कोसँग मिलेर जाने भन्नेबारे सो बैठकमा निर्णय हुने जसपा अध्यक्ष अशोक राईले जानकारी दिए।



