३० कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र विवादित शपथसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ। उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेश हुनेछ। अदालतले अन्तरिम आदेश जारी गर्ने–नगर्ने विषयमा पनि यही दिन निर्णय गर्नेछ।
हाल मधेश प्रदेशमा राजनीतिक अस्थिरता बढ्दै गएको छ। प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल भए पनि सरकार गठन प्रक्रिया विवादित बनेको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले बर्दिबास–३ कालापानीस्थित पानस होटलमै पुगेर शपथ खुवाएपछि विवाद चर्किएको हो। ‘ब्याक डेट’ मा निर्णय गरी होटलमै शपथ दिलाइएको भन्दै अन्य दलहरूले आपत्ति जनाउँदै आएका छन्।
यस विषयमा मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। उनीहरूले १०७ सदस्यीय प्रदेश सभामा एमाले बाहेक सात दल मिलेर बहुमत बनाउन सक्ने अवस्थामा भएको कारण, दुई वा बढी दलको समर्थनमा नयाँ सरकार गठनको मार्ग खुला गर्नुपर्ने माग गरेका छन्।
अब आजको सुनुवाइले मधेश प्रदेशको राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।





