३ मङ्सिर, बारा । जिल्ला प्रशासन कार्यालय बारा ले जीतपुरसिमरा उपमहानगरपालिका भित्रका संवेदनशील क्षेत्रलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको छ। सिमरा विमानस्थल आसपास जेन–जी युवाहरुको प्रदर्शन तथा राजनीतिक दलसँग आवद्ध समूहबीच झडप भएपछि सुरक्षा अवस्था जोखिमपूर्ण बनेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) अनुसार कर्फ्यू जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको आदेशअनुसार आज मिति २०८२/०८/०३ गते दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण निषेध गरिएको छ।
कर्फ्यू लागू हुने क्षेत्र
- गण्डक नहरदेखि पथलैया सडक खण्डसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर।
- सिमरा विमानस्थलको वरिपरि ५०० मिटर।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटका आधारमा हवाई यात्रुको आवतजावतमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले पत्राचार गर्दा पत्र संख्या, चलानी नम्बर र मिति उल्लेख गर्न समेत अनुरोध गरेको छ।






