७ मंसिर, काठमाडौं। काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि नयाँ दल सार्वजनिक गरिएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले पार्टीको नाम घोषणा गर्दै आफू पार्टीमा अभिभावकीय भूमिकामा रहने स्पष्ट गरेका छन्।
नवगठित दलमा १५१ सदस्यीय केन्द्रिय समिति रहने छ। नेतृ दुर्गा सोबको नाममा पार्टीले निर्वाचन आयोगमा दर्ता प्रक्रियासमेत पूरा गरिसकेको बताइएको छ।
पार्टीले प्रगतिशील समाजवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको छ भने यसको चुनाव चिन्ह ‘आँखा’ तय गरिएको नेता सन्तोष परियारले जानकारी दिए। उनका अनुसार नेतृत्व संरचना समावेशी र सामूहिक ढाँचामा अघि बढाइनेछ।





