समाचार

जेनजी समूहको दबाब: स्वकीय सचिव श्रेष्ठ हटाइयोस्

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्ना पारिवारिक सदस्य र नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गराएको खुलासापछि जेनजी युवा अगुवाहरू प्रधानमन्त्री कार्कीलाई भेटेर औपचारिक रूपमा ध्यानाकर्षण गराउने तयारीमा छन्।

द काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) आजै प्रधानमन्त्रीलाई भेट्न लाग्दैछ। समूहका सदस्य अनिल बानियाँले, “आज भेटिन्छ, तर ठीक समय टुंगो लागिसकेको छैन,” भन्दै भेट सुनिश्चित भएको बताए।

आदर्श कुमार श्रेष्ठले सरकारका सचिव सरहको सुविधा लिँदै आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव नियुक्त गराएका थिए। त्यस्तै, नातेदार कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिव बनाइएको छ। दुवैजना असोज २ गते, प्रधानमन्त्री कार्की नियुक्त भएको एक साताभित्रै जागिरमा प्रवेश गरेका हुन्।

यही दिन नासु सरह प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ समेत नियुक्त भएका थिए जसलाई जेनजी युवाहरूले “नातावाद र कृपावादको खुला प्रदर्शन” भएको भन्दै आलोचना गर्दै आएका छन्।

यसपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल पदमुक्त गर्न र उनले गरेको पारिवारिक नियुक्ति खारेज गर्नुपर्ने आवाज जेनजी युवामाझ बलियो बनेको छ।

सुदन गुरुङ समूहले जेनजी आन्दोलनको मूल भावना नै दुरुपयोग भएको बताउँदै प्रतिक्रिया दिएको छ। समूहका सदस्य बानियाँले भने, “हामीले सुशासन मागेका थियौँ, तर यस्तो कार्य हुने कल्पना गरेका थिएनौँ ।”