८ मंसिर, काठमाडौं । हरेक वर्ष असारको अन्तिममा मात्र बजेट सक्न हतारिएका सरकारी कार्यालयहरूको पुरानो प्रवृत्ति हटाउँदै यसपटक सरकारले हिउँदकै मौसममा काठमाडौंका सडक मर्मतलाई तीव्र गरेको छ।
काठमाडौं सडक डिभिजनका अनुसार अहिले राजधानीका मुख्य मार्गहरूमा रहेका खाल्डाखुल्डी मर्मत, सम्याउने तथा कालोपत्रे गर्ने काम सेट–पिसका रूपमा अघि बढाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ‘सुन्दर, सफा र सुरक्षित शहर’ निर्माण गर्ने लक्ष्यसहित उपत्यकामा नियमित सडक मर्मत सुरु गरिएको बताए। उनका अनुसार विकास निर्माणलाई हिउँदमै अगाडि बढाउँदा एकातर्फ पूँजीगत खर्च समयमै प्रगति गर्ने, अर्कोतर्फ कामको गुणस्तर पनि राम्रो हुने अपेक्षा छ।
सरकारले हरेक वर्ष जस्तै यस वर्ष पनि करीब १० अर्ब रुपैयाँ सडक मर्मतका लागि छुट्याएको र उक्त बजेट योजनाबद्ध रूपमा उपयोग गर्न मन्त्रालयले कडाइका साथ अनुगमन गरिरहेको डिभिजन कार्यालयले जनाएको छ।



