९ मंसिर, काठमाडौं । बागमती नदी किनारको सुरक्षा, स्वच्छता र समग्र वातावरण सुधारका लागि गोकर्णदेखि बल्खुसम्मको करिडोर अब उज्यालो र प्रविधिमैत्री बन्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उक्त क्षेत्रमा स्मार्ट लाइटिङ र आधुनिक सीसीटिभी प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाएको हो।
समितिका उपनिर्देशक उद्धव नेपालका अनुसार लगातार बढ्दै गएको फोहोर व्यवस्थापन समस्या, अनाधिकृत क्रियाकलाप र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै करिडोरमा ५६७ स्मार्ट सडक बत्ती तथा ६ स्थानमा ४८ हाइमास्ट फ्लडलाइट जडान गरिनेछ। यी बत्तीहरू दिन–रात दुवै समयमा कार्यक्षम हुने प्रकारका हुनेछन्।
त्यसैगरी, तापक्रम, धुलो र पानी प्रतिरोधी १२० अत्याधुनिक सीसीटिभी क्यामेरा स्थापना गर्ने तयारी भएको नेपालले बताए। सीसीटिभी तथा बत्ती जडानका लागि आवश्यक निर्माण व्यवसायी छनोट गर्न सोमबारबाट टेण्डर प्रक्रिया सुरु भइसकेको छ।
स्थापित सीसीटिभीको सर्भर र मनिटरिङ युनिट जिल्ला प्रहरी परिसर, काठमाडौंमा रहिनेछ। यसले करिडोर क्षेत्रमा हुने आपराधिक, अव्यवस्थित तथा जोखिमयुक्त गतिविधिको पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रविधियुक्त सुरक्षा तथा उज्यालो व्यवस्थापनले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने समितिको विश्वास छ। समितिको जानकारीअनुसार थापाथली–टेकु दोभान क्षेत्रमा भने केही सीसीटिभी जडान कार्य पहिले नै सम्पन्न भइसकेको छ।





