२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले यही मितिमा विश्वासको मत प्रक्रियामा जाने निर्णय गरेको जसपा प्रमुख सचेतक राम असिस यादवले जानकारी दिएका छन्।
मंसिर १९ गते नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका यादव आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शपथपछि उनले सानो आकारको प्रारम्भिक मन्त्रिमण्डल बनाएर सरकार सञ्चालन सुरु गर्ने तयारी गरिरहेका छन्।
विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने योजना उनको नजिकका स्रोतले जनाएका छन्। मधेश राजनीतिमा नयाँ समीकरण बनेको बेला यादवको विश्वास मत प्रक्रिया प्रदेशको स्थिरताका लागि महत्वपूर्ण मानिएको छ।





