साहित्य

स्मृतिको मौन ग्यालरी

-प्रज्वोल बोहरा -कविता


जब फोनको ग्यालरी खोतल्छु
तब तस्बिरहरू मात्र देखिँदैनन् !
भित्र कतै थन्किएका दिनहरू
एकाएक बाँच्न थाल्छन्!

औँलाले तस्बिर होइन, समयका घाउहरू
छोइरहेको, कोट्याईरहे,स्पर्श
गरिरहेको अनुभव हुन्छ ।

तस्बिरहरू बोल्दैनन्, प्रतिक्रिया हुदैँन् ,
तर भित्र कतै थन्किएका दिनहरू
एकाएक जीवित हुन्छन् र,
ढकढक्याउन थाल्छन् मनको ढोका !

कैद भएका ती तस्बिरहरूले मनभित्र अज्ञात छटपटाह जन्माइदिन्छन्!
आँखाले त केवल तस्बिर हेर्छ,
तर मनले समयका घाउहरू छुन्छ ।

त्यो ठाउँ बोल्छ, ती साथीहरू मुस्कुराउँछन्,
त्यो मौसम अझै उहिँ र उस्तै भएर,
मनभित्र बग्न थाल्छ।

र म, आजको म…
हिजोको त्यो,
समय बोकेर आज एक थान सम्झनाले झल्झली
मेरो काँधमा चुपचाप भारी बोकाइदिन्छन्।