१९ पुस, काठमाडौँ । नेपाली कांग्रेसले विशेष परिस्थिति भन्दै विधान, २०१७ (संशोधनसहित)को धारा ४३ बमोजिम पार्टीको सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि २०८३ साल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबर बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल गत मङ्सिरमा समाप्त हुन लागेपछि यसअघि मङ्सिर १५ गते दुई महिनाका लागि थप गरिएको थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्ष समयावधि थप गर्न सकिने प्रावधान छ । बैठकमा कावा सभापति खड्काले प्रस्तुत गर्नुभएका विभिन्न प्रस्ताव उपर छलफल गरी विभिन्न निर्णय गरिएको छ । बैठकले निर्वाचनको कारणले देखाउँदै १५औँ महाधिवेशन २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने गरी तालिका संशोधन गरेको बैठकका निर्णय सार्वजनिक गर्न मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी चैत २१ गते, गाउँ÷नगरपालिका अधिवेशन चैत्र २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत्र २८ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा) विसं २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख ५ गते, प्रदेश अधिवेशन वैशाख १० देखि १२ गते गर्ने निर्णय गरिएको छ । गत मङ्सिर १५ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाविधेशन यही पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कार्यसम्पादन समितिको आजको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणसम्बन्धी कार्य सम्पन्न नभएको र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपर्ने कारण देखाउँदै महाधिवेशनको तालिका संशोधन गरेको हो ।
विधानतः पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने माग
उक्त निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत पाँच नेताले असहमति जनाएका छन् । उनीहरुले गत असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनको प्रस्तावअनुसार विधानअनुसार यही पुस मसान्तभित्र १५औँ महाधिवेशन गरेका छन् । यद्यपी बैठकले गत मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका निर्णय गरी विधानबमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भएको ठहर गरेको छ । यसैगरी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन तत्काल नहुनुको अर्थ विशेष महाधिवेशनको ढोका खुलेको उल्लेख गर्दै अब सबै एक भएर विशेष महाधिवेशनमा प्रवेश गर्नुपर्ने बताएका छन्। उनले बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज र भोलिभित्रैमा सभापति शेरबहादुुर देउवासँग सल्लाह गरेर विशेष महाधिवेशनबारे टुङ्गोमा पुग्नुपर्ने विषयमा आफूले कुरा राखेको जानकारी दिए। महामन्त्री शर्माले सहमतिपुर्वक विशेष महाधिवेशन बोलाउने वा असहमतिबीच महामन्त्रीले आह्वान गर्नुपर्ने विकल्पका सुझाव दिएका थिए । बिधानको १७ (२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई सम्बोधन कसरी गर्ने मुख्य प्रश्न भएको बताउँदै उनले नियमित महाधिवेशन भएको भए त्यसले विशेषको मागलाई सम्बोधन गर्न सक्थ्यो भने । उनले यही पुस मसान्तमा विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अनादर गर्ने अधिकार कसैलाई नभएको बताए । महामन्त्री शर्माले आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जाने निर्णय पार्टीबाट सर्वसम्मतिले भएको तर पार्टीका संसद्लाई पुनःस्थापनामा हस्ताक्षर गर्न कसले निर्देशन दिएको भनी प्रश्न गरेका छन् । साथै उनले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णयका विरुद्ध नेकपा (एमाले)सँग गठबन्धन गर्ने ‘भुमिगत तयारी’को गर्दैछ भनी प्रश्न गर्दै त्यसबारेमा असहमति जनाए। पार्टी फुट्ने हल्लाबारेमा महामन्त्री शर्माले आफूले सिङ्गो कांग्रेसको नेतृत्व गर्न चाहेको र कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले सोच्न पनि नहुने बताए ।





