२९ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी टुंगो लागेको छ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन जारी राख्न चाहँदा अर्को पक्षले यसलाई स्वीकार्न तयार छैन। सहमति खोज्न विहानदेखि तीनै पक्षका नेताहरु संवादमा जुटेका थिए।
वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बैठक विषय प्रवेशको चरणमा रहेको जानकारी दिए। उनले भने, “विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौं। उहाँहरुले सुन्नुभयो। दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ।”
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए।





