२ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे निर्वाचन आयोगले विधिसम्मत ढंगले निर्णय गर्ने बताएका छन् ।
शुक्रबार देउवा पक्षका नेताहरूले आधिकारिकता सम्बन्धी कागजात बुझाउन आयोग पुगेपछि भएको छलफलमा भण्डारीले आयोग संविधान, ऐन र कानुनको सीमाभित्र रहेर मात्र निर्णयमा पुग्ने स्पष्ट पारे ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै कांग्रेसको वैधानिक नेतृत्व भएको र “विशेष महाधिवेशन” नाममा भएका गतिविधि पार्टीले नचिन्ने अडान राखेको छ ।
जवाफमा भण्डारीले भने, “निर्वाचन आयोगले संविधान, ऐन र कानुनको परिधिमा रहेर विश्लेषण गर्छ । विधि र पद्धतिबाहिर गएर निर्णय हुँदैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईंहरू सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।”
यसअघि पुस अन्तिम साता भएको भनिएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको टोली पनि आयोग पुगेर विवरण अद्यावधिक गर्न निवेदन दिइसकेको छ । उक्त निवेदनमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा सभापति थापाको हस्ताक्षर रहने व्यवस्था गर्न माग गरिएको छ ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको दाबी गरे पनि देउवा पक्षले त्यसलाई अवैधानिक भन्दै आयोगको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले दुवै पक्षका निवेदन, प्रमाण र पार्टी विधान अध्ययन गरी छिट्टै निर्णय दिने जनाएको छ ।





