२ माघ, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको निगरानी नेपाली सेनाको सहयोगमा गर्ने जनाएको छ ।
आयोगका आयुक्त सगुन शमशेर जबराले राजनीतिक दलहरूसँग भएको आचारसंहिता सम्बन्धी छलफलमा सोसल मिडिया अनुगमनका लागि विशेष व्यवस्था गरिएको जानकारी दिएका हुन् । उनले अनुगमनका लागि विदेशबाट उपकरण सहयोग प्राप्त भएको र त्यससँगै नेपाली सेनाको प्रविधि पनि प्रयोग गरिने बताए ।
आयुक्त जबराले नेपालमा सामाजिक सञ्जाल निगरानीका लागि सबैभन्दा प्रभावकारी उपकरण नेपाली सेनासँग रहेको भन्दै आयोगले ती साधनमार्फत चुनावी गतिविधिको निगरानी गर्ने स्पष्ट पारे ।
उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई पहिलो चरणमा स्पष्टीकरणको मौका दिइने र जवाफ सन्तोषजनक नभए कानुनी कारबाही अघि बढाइने बताए ।
साथै, निर्वाचन आचारसंहिता विपरीतका सामग्री सामाजिक सञ्जालमा फैलिन नदिन आयोगले फेसबुक (मेटा) र टिकटकसँग औपचारिक सम्झौता गर्ने तयारी गरिरहेको पनि जानकारी दिएको छ ।
आयोगले निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न डिजिटल माध्यमको दुरुपयोग रोक्न कडा निगरानी गर्ने जनाएको छ ।





