२ माघ, काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानअनुसार महाधिवेशन वैध भएको भन्दै निर्वाचन आयोगमा स्पष्ट पार्दै विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा आयोग पुगेका केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानको धारा १७ को २ को व्यवस्थाअनुसार महाधिवेशन आयोजना गरिएको विवरण प्रस्तुत गरेका हुन्। शर्माले बताएअनुसार, ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अवस्था आएको भन्दै महाधिवेशन बोलाउने माग गरेका थिए। तर, कार्यसमितिले प्रतिनिधिहरूको विधानअनुसार प्राप्त सार्वभौम अधिकार प्रयोग गर्न नदिँदा दुई महामन्त्रीले विधानकै आधारमा पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन आह्वान गरेका थिए। उनले महाधिवेशनले नीति र नेतृत्व दुवैमा परिवर्तन गरेको उल्लेख गरे।
अर्का उपसभापति पुष्पा भुसालले पनि निर्वाचन आयोगलाई स्पष्ट पारेकी थिइन् कि विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूको अधिकार प्रयोग गरी बोलाइएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। उनले ५१ प्रतिशत प्रतिनिधिले नयाँ कार्यसमिति चयन गर्न पाउने भए पनि ५७.२१ प्रतिशत प्रतिनिधिको हस्ताक्षरले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिइन्।
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पनि विधानको अक्षरश पालन गरी सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगले अद्यावधिक गर्नु पर्ने धारणा राखेका छन्।
निर्वाचन आयोगसँगको छलफलमा उपसभापतिहरू शर्मा र भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारी तथा थुप्रै केन्द्रीय सदस्य सहभागी थिए।





