५ माघ, काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
डीआईजीतर्फ अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरिएको छ । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्ट पनि नयाँ जिम्मेवारीमा पठाइएका छन् ।
सरुवा अनुसार, पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा पठाइएको छ भने सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ । आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ ।
यसैबीच प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना एसपीको पनि सरुवा गरेको छ । सरुवामा अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एकनारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्रलगायत रहेका छन् ।
विशेषगरी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुरमा ल्याइएको छ भने ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रशासनिक तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यो ठूलो सरुवा गरिएको जनाएको छ ।





