समाचार

निर्वाचन आयोगले आज प्रकाशित गर्दै प्रतिनिधि सभा उम्मेदवारको नामावली

८ माघ, काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभाका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गरेपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरीसमेत लिइसकेको थियो। आयोगले बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरीको जाँचबुझ सकेकोले आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ।

उम्मेदवारले नाम फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय पाउनेछन्। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित हुनेछ भने ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार, यस चुनावका लागि पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी कुल ३४८६ उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आगामी फागुन २१ गते हुने छ र यसमा जम्मा १ करोड ८९ लाख ३८ हजार ६८९ मतदाता भाग लिनेछन्। यो निर्वाचन संसद विघटन पछि जेनजी आन्दोलनको प्रभावमा आयोजना हुँदैछ।