राजनीति

नेपाललाई भूराजनीतिक अखडा बनाउन षड्यन्त्र भइरहेको छ : महासचिव पोखरेल

१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने भूराजनीतिक अखडाका रूपमा प्रयोग गर्न षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले शक्ति राष्ट्रहरूको योजनाअनुसार नेपाललाई द्वन्द्वको क्रियास्थल बनाउन कठपुतली सरकार निर्माण गर्ने प्रयास भइरहेको दाबी गरे ।

शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउने रणनीतिका साथ चुनावी अभियान अघि बढाइएको बताए । उनले भने, नेपाललाई क्रिडास्थल बनाउने उद्देश्यले अहिलेको सरकार निर्माण गरिएको र भविष्यमा पनि त्यही योजना निरन्तरता दिन ‘जिलेन्सी’ सिर्जना गर्ने प्रयास भइरहेको छ ।

पोखरेलले भारत र चीनजस्ता दुवै छिमेकी मुलुकविरुद्ध प्रयोग गर्ने शक्ति राष्ट्रहरूको चलखेललाई नेकपा एमालेले सफल हुन नदिने स्पष्ट पारे । मुलुकको स्वाभीमान, स्वाधीनता र राष्ट्रिय हितलाई मजबुत बनाउन एमाले योजनाबद्ध रूपमा अघि बढिरहेको उनको भनाइ छ ।

‘हाम्रा छिमेकी मुलुक भारत र चीनविरुद्ध शक्ति राष्ट्रहरूले नेपालको भूमि प्रयोग गर्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘त्यस्ता षड्यन्त्रलाई रोक्दै नेपाल राष्ट्रलाई कमजोर हुन नदिने हाम्रो लक्ष्य हो ।’

आगामी निर्वाचनलाई उनले सामान्य चुनावभन्दा फरक र विशिष्ट अवस्था भएको बताए । भदौ २३ र २४ मा भएका घटनाका कारण दुई वर्षअगाडि नै निर्वाचन हुन गइरहेको उल्लेख गर्दै पोखरेलले यसलाई मुलुक कुन दिशातर्फ जाने भन्ने विषयमा जनमत संग्रहजस्तै भएको बताए ।

उनले जनजीवनको नाममा परिचित नवयुवाहरूको भावनामाथि खेल्दै उनीहरूको आन्दोलन अपहरण गरेर नेपाललाई गम्भीर भूराजनीतिक चक्रब्युहमा फसाउने षड्यन्त्र भएको एमालेको ठहर रहेको पनि सुनाए ।

महासचिव पोखरेलले मुलुक प्रतिगमनतर्फ धकेलिएको, संविधान कमजोर बनाइएको र लोकतन्त्रलाई क्षति पुर्‍याइएको आरोप लगाउँदै निर्वाचनपछि पनि विदेशी योजनाअनुसार कठपुतली सरकार बनाउने प्रयास भइरहेको दाबी गरे ।