२० माघ, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ सधैं नेमकिपा, कांग्रेस र एमालेबीच आलोपालो जित–हार हुँदै आएको क्षेत्र हो । तर यसपटक नयाँ उम्मेदवारहरूको प्रवेशसँगै चुनावी प्रतिस्पर्धा पुराना अनुहार र नयाँ सोचबीचको टक्करजस्तै देखिएको छ । इतिहास हेर्दा २०४८ सालमा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने विजयी भएका थिए । २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल र २०७४ मा एमालेका महेश बस्नेत सांसद बने । पछिल्लो २०७९ को चुनावमा भने कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए । २०७९ मा थापाले २४ हजार २३९ मत ल्याउँदा एमालेका बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । त्यही चुनावमा नेमकिपा तेस्रो, रास्वपा चौथो र राप्रपा पाँचौँ स्थानमा रहेका थिए ।
नेमकिपा, रास्वपा र राप्रपाले क्रमशः ७ हजार १२७, ४ हजार ९८ र २ हजार ५६९ मत ल्याएका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, नेमकिपा, उज्यालो नेपाल पार्टी र राप्रपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा ३२ जना उम्मेदवार मैदानमा छन् । एमाले सचिव महेश बस्नेत २०७९ को हारपछि ‘कमब्याक’को प्रयासमा छन् । पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतले भक्तपुरको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र सम्पदा पुनर्निर्माणमा आफूले योगदान पुर्याएको दाबी गर्दै मत मागिरहेका छन् ।
कांग्रेसले यसपटक कविर राणालाई उम्मेदवार बनाएको छ । विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएका राणाले बेरोजगारी, खानेपानी, सिँचाइ र सडक पूर्वाधार समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद सापकोटा (दीपशिखा) ले विश्वासको राजनीति र भक्तपुरलाई पर्यटन तथा सांस्कृतिक सहरका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । रास्वपाका राजीव खत्री नयाँ अनुहार हुन् । उनले नीतिगत सुधारमार्फत विकासको बाटो खोल्ने दाबी गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गरिरहेका छन् । नेमकिपाका रमेश वैद्यले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने, रोजगारी सिर्जना गर्ने र उत्पादनका साधनको राष्ट्रियकरण गर्ने एजेन्डा अघि सारेका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी पनि नयाँ सोच र विकासका मुद्दा लिएर प्रतिस्पर्धामा छन् । राप्रपाका विक्रम थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा अघि सारेका छन् ।
यस क्षेत्रमा कुल ९८ हजार ३५६ मतदाता छन् । ३९ वटा मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन् । भक्तपुर–२ मा मध्यपुर थिमी नगरपालिकाका ९ र सूर्यविनायक नगरपालिकाका १० वडा समेटिएका छन् ।



