ओखलढुंगा, २२ माघ । एक महिना अवधिमा चार जनाको हत्या भएपछि ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दा असुरक्षित महसुस गर्दै आफ्नो थातथलो छोड्न थालेका छन्। उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय पनि गरेका छन्।
भदौरेका समाजसेवी सन्तोषकाजी कार्कीका अनुसार, “असुरक्षा महसुस गरेर काठमाडौं र धरानतिर बसोबास र आफन्त हुनेहरूले गाउँ छोडिरहेका छन्। बाँकी भएका केही घरका बासिन्दा दुई/तीन घर जम्मा भएर आलोपालो सुत्न थालेका छन्।” उनले थपे, “किसानका गोठबाट खसी–बोका समेत चोरी भएका छन्। राज्यबाट सुरक्षा प्रत्याभूति नभएपछि हामी २१ फागुनको चुनाव बहिष्कार गर्ने निर्णयमा छौं।”
भदौरेको बोहोरे टोलमा एक साता अघि ८१ वर्षीया चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको अज्ञात समूहले विभत्स हत्या गरेको थियो। दुई महिनाअघि सोही गाउँमा ६० वर्षीय सोभितमान थापामगर र उनकी पत्नीको हत्या भएको थियो। उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
राजनीतिक सभा र जुलुसमा सहभागी नहुने निर्णय
लगातारका हत्या, लुटपाट र हिंसाका घटनापछि बासिन्दाले शान्ति सुरक्षा ग्यारेन्टीको माग गर्दै सर्वपक्षीय भेला राखेका थिए। भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको ठहर गर्दै पीडित परिवारलाई न्याय दिलाउने, नागरिक सुरक्षामा दबाब दिने र चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।
भेलाले २५ सदस्यीय संघर्ष समिति गठन गर्दै जघन्य अपराधको पृष्ठभूमि र प्रभावलाई ध्यानमा राखी दुर्लभ तथा क्रूर अपराधमा मृत्युदण्डको व्यवस्था गर्न संघीय संसदमार्फत कानुन संशोधन गर्न नेपाल सरकारसँग माग गरेको छ।
भेलाले व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस तथा भेला आयोजना नगर्न सबै दललाई आग्रह गरेको छ। सर्वपक्षीय भेलामा नेपाली कम्युनिष्ट पार्टी ‘नो–भोट’ अभियानमा फरक मत राखे पनि अन्य दलहरू सहमत छन्।
सेना–प्रहरी परिचालन र सुरक्षा व्यवस्थापनको माग
भेलाले तत्काल लागू गर्नुपर्ने अल्पकालीन सुरक्षा व्यवस्थापनका लागि राज्य समक्ष विभिन्न माग अघि सारेको छ। यसमा हत्या घटनामा संलग्न हत्यारालाई तुरुन्त पक्राउ गरी कानुन बमोजिम सजाय सुनिश्चित गर्न, अस्थायी क्याम्प स्थापना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनाको संयुक्त टोली परिचालन गर्नुपर्ने समावेश छ।
दीर्घकालीन सुरक्षाका लागि निशंखे प्रहरी चौकीलाई इलाका प्रहरी चौकीमा स्तरोन्नति गर्दै थप जनशक्ति परिचालन, भदौरे वडामा स्थायी प्रहरी पोष्ट स्थापना र आवश्यक स्थानमा चेकपोष्ट व्यवस्थापन गर्नुपर्ने माग पनि गरिएको छ।
वडा कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत हत्यारालाई अविलम्ब पक्राउ गरी सजाय सुनिश्चित गर्न, पीडित परिवारलाई न्यायको अनुभूति गराउन र मुख्य चोक तथा सडकहरूमा सीसी क्यामेरा जडान गर्न अनुरोध गरेको छ।
जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले पनि भदौरे गाउँको घटनाले निर्वाचन प्रभावित हुन सक्ने भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउन जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन्।



