सुदूरपश्चिम

बैतडीको पुर्चौडी नगरपालिकामा शोक बिदा

२३ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले बस दुर्घटनामा १३ जनाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू एक दिनका लागि बन्द रहने जनाएको छ।

बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लिएर फर्किएको जन्ती बोकेको बस सोही वडाको बढगाउँ मोडमा दुर्घटनामा परेको थियो। पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेपछि ठूलो मानवीय क्षति भएको हो।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। नगरपालिकाले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।