मनोरञ्जन

‘अभिनेता थापाको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति’

सुनिल थापा

२४ माघ, काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ अभिनेता सुनिल थापाको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेरमा थापाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

वरिष्ठ अभिनेता थापाको असामयिक निधनले नेपाली मात्र नभई भारतीय चलचित्र क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको कांग्रेसले बताएको छ । बहुआयामिक व्यक्तित्व, कर्मशील कलाकार र अनुकरणीय स्रष्टाका रूपमा थापाले छोडेर जानुभएको रिक्तता लामो समयसम्म महसुस भइरहने कांग्रेसले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ पात्रलाई पनि नायक सरहको उचाइ, गरिमा र सम्मान दिलाउन सफल स्वर्गीय थापा ‘राते काइला’ का नामबाट आमदर्शकमाझ अत्यन्त लोकप्रिय र स्मरणीय रहेको कांग्रेसले बताएको छ ।

चार दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद तथा चलचित्र उद्योगका विविध आयाममा उनले पुर्‍याएको सशक्त, समर्पित र प्रेरणादायी योगदान नेपाली चलचित्र इतिहासमा सदा अमिट रूपमा अङ्कित रहने कांग्रेसले जनाएको छ ।

यसैबीच, अभिनेता थापाको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन् । “नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापा ‘राते काइला’ को निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, नेपाली र भारतीय चलचित्रमा सशक्त भूमिका निर्वाह गर्नुभएका उनको निधनबाट सम्पूर्ण चलचित्र उद्योगले अपूरणीय क्षति व्यहोरेको छ”, सभापति थापाले भनेका छन् ।

स्वर्गीय अभिनेता थापाले अभिनय, मोडलिङ, खेलकुद तथा चलचित्र उद्योगका विविध पक्षमा उहाँले पुर्‍याएको योगदान सदा स्मरणीय रहने सभापति थापाले बताए । उनले अभिनेता थापाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

फागुन २१ पछि मात्र झापा–४ मा परम्परागत राजनीतिक शक्ति कायम रहनेछ वा नयाँ राजनीतिक धारको उदय हुनेछ भन्ने टुङ्गो लाग्ने छ ।