२८ माघ, काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा उनलाई नेपाल ल्याइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पाठकलाई परिसरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनका अनुसार विद्युतीय कारोबार ऐन, आपराधिक लाभलगायतका कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
प्रकाश पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई पत्र तथा भिडियो सन्देशमार्फत धम्की दिएको खुलेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
काभ्रेको तेमाल गाउँपालिका–१ स्थायी घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस सहरबाट पक्राउ परेका थिए । फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशनले नेपाल प्रहरीको अनुरोधपछि उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
उनविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो भने अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन समेत जारी गरिएको थियो । त्यसकै आधारमा फिलिपिन्समा रहेका प्रहरी र आप्रवासन निकायको सहयोगमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।
प्रहरीका अनुसार पाठक यसअघि पनि विभिन्न कसुरमा चार पटकसम्म मुद्दा खेपिसकेका व्यक्ति हुन् । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा सार्वजनिक अपराध (अभद्र व्यवहार), ठगी तथा आपराधिक विश्वास र आपराधिक लाभसम्बन्धी मुद्दा उनीमाथि दर्ता भइसकेको देखिएको छ ।





