सुदूरपश्चिम

पार्टी बाहेक अन्य उम्मेदवारको समर्थन नगर्न कांग्रेस कञ्चनपुरको निर्देशन

२८ माघ, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमार्फत पार्टीका उम्मेदवार बाहेक अन्य उम्मेदवारको पक्षमा अभिव्यक्ति नदिन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक वा कुनै पनि प्रकारको प्रचार–प्रसारमार्फत विपक्षी वा अन्य दलका उम्मेदवारलाई लाभ पुग्ने गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको हो ।

पार्टी सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा कांग्रेसका आधिकारिक उम्मेदवार बाहेक अरूको समर्थन हुने कुनै पनि किसिमका अभिव्यक्ति सार्वजनिक नगर्न अनुरोध गरिएको छ । निर्देशनमा सामाजिक सञ्जालसहित सार्वजनिक मञ्चमा समेत अनुशासन पालना गर्न भनिएको छ ।

त्यसैगरी, कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई उम्मेदवारको पछि नलागी आ–आफ्नो टोल र वडामा केन्द्रित भएर सक्रिय हुन आग्रह गरेको छ । यसरी स्थानीय तहमा केन्द्रित भई काम गर्दा स्थानीय बासिन्दासँग छलफल, विचार आदान–प्रदान तथा समन्वय सहज हुने पार्टीको भनाइ छ ।

विज्ञप्तिमा आवश्यकता परे अन्य वडामा जानुपरेमा पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी दिएर मात्र जान पनि अनुरोध गरिएको छ । साथै, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई आफ्नो क्षेत्रमै सक्रिय भएर पार्टीका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरिएको छ ।