समाचार

राष्ट्रिय सभाबाट चलचित्रसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

२८ माघ, काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्रसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गरेकी थिइन्। सभाले प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्दै विधेयक पारित गरेको हो।

चलचित्र विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अघि सारेका थिए। यो विधेयक २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो भने २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत गरिएको थियो।

विधेयकमाथि २०८२ साल असार ९ गते सामान्य छलफल भएको थियो। त्यसपछि दफावार छलफलका लागि २०८२ साल साउन १४ गते विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। समितिबाट पारित भई सभामा पेस भएपछि राष्ट्रिय सभाले विधेयकलाई अन्ततः पारित गरेको हो।