सूचना प्रविधि

साना कार्यक्रम र डिजिटल प्रचारमा पाँचथरका दलहरूको ध्यान

७ फागुन, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा यसपटक चुनावी माहोल पुरानाभन्दा फरक देखिएको छ। ठूला आमसभा र भव्य र्‍यालीभन्दा दलहरू कर्नर मिटिङ, घरदैलो तथा साना भेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित भएका छन्।

६० वटा वडा समेटिएको विशाल भौगोलिक क्षेत्र भएकाले उम्मेदवारहरूलाई सबै ठाउँमा पुग्न चुनौतीपूर्ण भएको छ। त्यसैले दलहरूले मतदातासम्म प्रभावकारी रूपमा पुग्न सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाएका छन्। क्यामेरामेनसहित टोली लिएर उम्मेदवारहरू दैनिक गतिविधि र भेटघाटका भिडियो फेसबुक र टिकटकमा सार्वजनिक गरिरहेका छन्। यसपटक भित्तामा टाँसिने पर्चा–पम्प्लेटको प्रयोग भने न्यून देखिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ समानुपातिक उम्मेदवार भीष्मराज आङदेम्बे र जिल्ला सभापति रुपनारायण जवेगुसहित सानो टोली बनाएर गाउँ–गाउँमा पुगेका छन्। कांग्रेसका जिल्ला उपसभापति डिकेन्द्र चेम्जोङका अनुसार पार्टी र भातृसंस्थाका कार्यकर्ता सक्रिय रूपमा परिचालित छन्। ८ गते इलाम–पाँचथर सिमानामा उपसभापति विश्वप्रकाश शर्मा सहभागी हुने कार्यक्रम तय भएको उनले बताए।

नेकपा एमालेका उम्मेदवार अईन्द्रसुन्दर नेम्बाङ पनि समानुपातिक उम्मेदवार भूमिका नेम्बाङसहित मतदातामाझ पुगेका छन्। एमालेले ठूला राजनीतिक कार्यक्रमभन्दा कार्यकर्ता परिचालन र प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको जनाएको छ।

नयाँ चुनाव चिह्नसहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हर्क नेम्बाङ पनि घरदैलो अभियानमा व्यस्त छन्। पार्टीका नेता विशाल रसाईलीले प्रविधिको विकाससँगै मतदाताले सूचनामा सजिलै पहुँच पाउने भएकाले ठूला भाषणभन्दा प्रत्यक्ष संवादलाई महत्व दिएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थामसुहाङ पनि गाउँ केन्द्रित कार्यक्रममा सक्रिय छन्। वरिष्ठ नेता बालेन शाहको उपस्थितिपछि पार्टी कार्यकर्तामा उत्साह थपिएको बताइएको छ।

यस्तै, श्रम संस्कृति पार्टीले पनि सबै ६० वडामा संगठन विस्तार गर्दै जनसम्पर्कलाई तीव्र बनाएको जनाएको छ। उज्यालो नेपाल पार्टीले र्‍याली सम्पन्न गरी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ।

पाँचथरमा विभिन्न दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। बदलिँदो शैली र प्रविधिमैत्री प्रचार अभियानबीच उनीहरू आ–आफ्नै रणनीतिसहित मतदाताको विश्वास जित्न प्रयासरत छन्।