९ फागुन, गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाएका छन्। आदेशअनुसार तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र कर्फ्यूको दायरामा परेको छ।
आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।






