१० फागुन, पोर्चुगल । नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) मा नक्कली छाप र हस्ताक्षर प्रयोग भएको प्रकरणले पोर्चुगलमा रहेका हजारौं नेपाली गम्भीर कानुनी समस्यामा परेका छन् । लिस्वनस्थित नेपाली राजदूतावासका अनुसार यस विषयमा उजुरी गर्नेको संख्या दुई हजार नाघिसकेको छ भने इमेलमार्फत् आउने गुनासो अझै बढ्दो क्रममा रहेको छ ।
पीडितहरूका अनुसार नेपाल प्रहरीले जारी गरेको प्रहरी रिपोर्ट सक्कली भए पनि त्यसलाई प्रमाणीकरण गर्ने क्रममा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरिएको पाइएको छ । कतिपयले प्रमाणीकरणका लागि जिम्मा लगाएको व्यक्तिको नामसमेत किटान गरेर उजुरी दिएका छन् ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले हाल राजदूतावासको मुख्य काम नै उजुरी संकलन र विवरण संकलन बनेको बताए । उनका अनुसार लिखित रूपमा मात्र झन्डै एक हजार उजुरी दर्ता भइसकेका छन् भने इमेलमार्फत् आएका उजुरीहरूको संख्या त्योभन्दा बढी छ । संकलित विवरण सम्बन्धित सरकारी निकायमा पठाएर प्रहरी रिपोर्ट सक्कली रहेको तर छाप र हस्ताक्षर नक्कली भएको जानकारी गराइएको उनले स्पष्ट पारे ।
यो समस्या त्यतिबेला उत्पन्न भएको बताइएको छ, जब पोर्चुगलको लिस्वनमा रहेको अवैतनिक महावाणिज्यदूतको कार्यालय बन्द भएपछि कागजात प्रमाणीकरणका लागि नेपालीहरूलाई फ्रान्स वा भारत जानुपर्ने बाध्यता सिर्जना भयो । यही अवस्थाको फाइदा उठाउँदै केही दलाल समूहले सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर लगाएर कागजात तयार गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न दुई नेपाली यसअघि नै पक्राउ परिसकेका छन् ।
पोर्चुगलको आप्रवासन निकायले अस्थायी आवास अनुमति पत्र (टिआरसी) का लागि आवेदन दिएका नेपालीहरूको कागजात जाँच गर्दा नक्कली छाप भेटिएपछि धेरैलाई देश छाड्न चेतावनी दिएको बताइएको छ । पीडितहरूका अनुसार आफूहरूले कुनै किर्ते नगरे पनि सरकारी कागजपत्र दुरुपयोग र जालसाजीको आरोप लागेको छ । इमेलमार्फत् मुद्दा दर्ता भएको सूचना समेत आएको उनीहरूको भनाइ छ ।
लिस्वनमा रहेका एक नेपालीका अनुसार मात्र तीन हजारभन्दा बढी नेपाली नागरिक यस प्रकरणबाट प्रभावित भएका छन् । धेरैले ह्वाट्सएप समूह बनाएर सामूहिक रूपमा समाधान खोज्ने प्रयास गरिरहेका छन् । उनीहरूले नेपाल सरकार, राजदूतावास र नेपाली संघसंस्थासँग सहजीकरण तथा मानवीय आधारमा पुनर्विचारको माग गरेका छन् ।
यसैबीच, एक कार्यक्रममा सहभागी युवाहरूले स्थानीय नेपाली संघसंस्थाहरू मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले दलाल समूहसँग केही व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।
नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले घटनालाई गम्भीर रूपमा लिँदै तत्काल सत्यतथ्य बुझेर प्रतिवेदन तयार गर्न राजदूतावासलाई निर्देशन दिएका छन् । उनले संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै प्रभावित नेपालीहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गरेका छन् ।
हाल राजदूतावासले उजुरी संकलन, तथ्य प्रमाण जुटाउने र पोर्चुगलका सरकारी निकायसँग समन्वय गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ । प्रभावित नेपालीहरू भने आफूहरू संगठित ठगीको सिकार भएको दाबी गर्दै निष्पक्ष छानबिन र न्यायको प्रतीक्षामा छन् ।





