१० फागुन, हुम्ला । हुम्लाका नागरिक अनुदानको नुन किन्न दुई दिनसम्म पैदल यात्रा गर्न बाध्य छन्। खार्पुनाथ गाउँपालिका–१ लाली गाउँकी पुल्तिसरा जैसी एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट पुगिन्। सिमकोट विमानस्थल गेटमा रहेको बिक्री केन्द्रमा लाइनमा उभिएर उनले आठ प्याकेट नुन किन्न सफल भइन्, तर फिर्ता घर पुग्न उनलाई फेरि एक दिन लाग्नेछ।
“पहिला चामल किन्न यसरी नै लाइन बस्नुपर्थ्यो, अहिले नुन किन्न लाइनमा बस्नुपर्ने बाध्यता छ,” उनले भनिन्।
देउखुरी गाउँका कृष्णप्रसाद जैसीको गुनासो पनि उस्तै छ। एक नागरिकताबाट आठ प्याकेट मात्रै नुन किन्न पाइने व्यवस्था रहेको भन्दै उनले दुई दिन खर्चेर नुन किन्नु परेको बताए। “एक दिन आउन, एक दिन फर्किन — आठ प्याकेट नुनका लागि दुई दिन जान्छ,” उनले दुखेसो पोखे।
सिमकोट गाउँपालिका–८ का तुलराज बुढा पनि तीन–चार घण्टा पैदल हिँडेर नुन किन्न सिमकोट पुगेका छन्। उनले पनि सीमित परिमाणका कारण परिवार चलाउन कठिन भएको बताए।
हुम्लामा ढुवानी र आपूर्ति व्यवस्थापनको समस्या पुरानै हो। विगतमा चामलका लागि लाइन बस्नुपरेको स्थानीयको अनुभव छ भने अहिले अनुदानको नुनका लागि त्यही अवस्था दोहोरिएको छ। दुर्गम भूगोल, सीमित आपूर्ति र वितरण प्रणालीका कारण सर्वसाधारणले आधारभूत उपभोग्य वस्तुका लागि समेत सास्ती खेप्नुपरेको छ।
स्थानीयले नुनको कोटा वृद्धि गर्न र गाउँमै सहज वितरणको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।





