समाचार

बैतडीमा फेरि एक निर्वाचन प्रहरीको मृत्यु, एक महिनामा तीन जनाको ज्यान गयो

बैतडी, १२ फागुन । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । पछिल्लो घटनासँगै जिल्लामा एक महिनाको अवधिमा मृत्यु हुने निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ ।

सोमबार मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को निधन भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए ।

ड्युटी सकेर घर फर्किएका भट्ट साँझ घरमै एक्कासी बेहोस भएका थिए । उनलाई तत्काल एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । तर स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राति १२ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वडको घरमै अचेत भएर मृत्यु भएको थियो । त्यसैगरी माघ २० गते सोही नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्द तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाएका थिए ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको लगातार मृत्यु भएपछि जिल्लामा चिन्ता बढेको छ ।