१५ फागुन, काठमाडौं । नेकपा एमालेका तर्फबाट झापा–२ का प्रतिनिधिसभा उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरे ले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको बताएका छन्। सामाजिक सञ्जालमा आफू ‘अल्गोरिदम बायस’को सिकार बनेको उल्लेख गर्दै उनले फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन्।
घिमिरेले महाकाली सन्धिका विषयमा विभिन्न जिज्ञासा उठेको स्वीकार गर्दै यसबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरेका छन्। उनले सन्धिबारे आफूले आवश्यक जवाफ दिइरहेको र विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्। साथै ‘घृणाको राजनीति’ नगर्न आग्रह गर्दै सन्धिको अध्ययन र विश्लेषण गर्न सबैलाई अनुरोध गरेका छन्।
केही दिनअघि एक व्यक्तिले ‘भाइरल बनाउने उद्देश्य’ले भिडियो खिचेर सोधिएको प्रश्नको आफूले नियोजित उद्देश्य थाहा पाएपछि जवाफ नदिएको दाबी पनि उनले गरेका छन्। सोही भिडियो अहिले एक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भइरहेको उनको भनाइ छ।
घिमिरेले आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। सन्धि हुँदा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उल्लेख गर्दै पार्टीभित्र भएको बहसलाई गलत रूपमा व्याख्या गरिएको उनको आरोप छ।
५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै उनले राजनीति आफ्नो लागि सेवा भएको र कुनै ओहोदा वा लाभका लागि नलागेको दाबी गरेका छन्। तीन वर्षअघि प्रतिनिधिसभाको सभामुख हुँदा इमानदारीपूर्वक काम गरेको र झापा–२ को विकासमा निरन्तर योगदान दिएको उनले बताएका छन्।
महाकाली सन्धिबारे उठेको विवादका बीच घिमिरेको यो स्पष्टिकरणले राजनीतिक बहसलाई नयाँ मोड दिएको छ।





