१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहानै भक्तपुरस्थित निवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार बिहान ६ बजेदेखि नै प्रहरी टोली घर वरिपरि तैनाथ थियो। उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर लगिएको बताइएको छ।
पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख गरिएको छ। हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ।
यसअघि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए भने १३ फागुनमा रिहा भएका थिए। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईं ले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्च अदालत का न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेल को इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।
प्रसाईंको पुनः गिरफ्तारीसँगै राजनीतिक तथा सामाजिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। यसबीच सामाजिक सञ्जालमा गरिएको एक सर्वेक्षणमा ६१ प्रतिशतले ‘खुसी’ प्रतिक्रिया जनाएका छन् भने बाँकीले फरक धारणा व्यक्त गरेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





