प्रदेश 1

खोटाङमा मतदानकाे तयारी पूरा, अदालतका तीन कोठामा गणना हुने

१९ फागुन, खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै खोटाङमा मतगणनाको तयारी पूरा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई मतदानस्थलमा खटाएसँगै मतगणना स्थल व्यवस्थापन सम्पन्न गरेको जनाएको छ ।

जिल्ला अदालत परिसरभित्र स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन वटा कोठा मतगणनाका लागि तयारी गरेको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार एउटा कोठामा मतपेटिका सुरक्षित भण्डारण गरिनेछ भने बाँकी दुई कोठामा मतगणना कार्य सञ्चालन हुनेछ ।

मतगणना कक्षमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । तारजालीको बार लगाएर अलग–अलग भाग छुट्याइएको छ भने कर्मचारीलाई आवत–जावत सहज बनाउन छुट्टै ढोका बनाइएको छ ।

फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतपेटिका मतगणना स्थलमा ल्याइने र सर्वदलीय सहमतिपछि गणना सुरु गरिने कार्यालयले जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । एक सिटका लागि १३ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार गरी १५ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।