पर्यटन/संस्कृति

नेपाल एयरलाइन्सका दमाम र दोहा उडान रद्द

२० फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले साउदी अरबको दमाम र कतारको दोहाका लागि निर्धारित उडान रद्द गरेको छ ।

कम्पनीले बुधबार सूचना प्रकाशित गर्दै दुवै गन्तव्यका उडानहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाएको हो । पछिल्लो समय खाडी क्षेत्रमा चर्किएको युद्ध र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडान रद्द गरिएको जनाइएको छ ।

एयरलाइन्सले दुबई, दोहा र दमामका आगामी उडानबारे जानकारी लिन यात्रुहरूलाई कम्पनीको आधिकारिक सूचना वा तोकिएको सम्पर्क नम्बरमा बुझेर मात्र विमानस्थल आउन आग्रह गरेको छ । साथै, आधिकारिक वेबसाइटमार्फत पनि नियमित रूपमा अद्यावधिक सूचना जारी गरिने जनाएको छ ।

खाडी क्षेत्रमा बढ्दो तनावका कारण नेपाल एयरलाइन्स मात्र नभई अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानसमेत प्रभावित भइरहेका छन् । यात्रुहरूलाई अनावश्यक झन्झटबाट जोगिन अग्रिम जानकारी लिएर मात्र यात्रा योजना बनाउन कम्पनीले अनुरोध गरेको छ ।