समाचार

कुलमान घिसिङले मतदान गरे, भने– “जनताले विश्वास गरेर हामीले जित्छौं”

काठमाडौं, २१ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताएका छन्।

आज बिहान मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “जनताले विश्वास गरेर हामीले जित्छौं।” उनले अहिलेसम्म निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उल्लेख गरे।

यद्यपि, केही स्थानमा पैसा बाँडिएको भन्ने कुरा सुनिएको र आफ्नै क्षेत्रमा समेत त्यस्तो चर्चा आएको उनले बताए। यस्ता गतिविधि भएमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनको धारणा छ।

पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी स्थापना गरी निर्वाचनमा होमिएका घिसिङले आज बिहान ७ बजे जनकल्याण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

घिसिङ काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्।