प्रवास

मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल फर्कने यात्रु बढे

२७ फागुन, काठमाडौं । पछिल्लो एक हप्ता नेपालबाट मध्यपूर्व जानुभन्दा त्यहाँबाट फर्कने यात्रुको संख्या बढी देखिएको छ। इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि भएको जवाफी हमलाका कारण मध्यपूर्वका देशहरूमा द्वन्द्व जारी छ। यसले खाडी क्षेत्रका हवाई उडानमा अस्थिरता सिर्जना गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, २० फागुनयता मध्यपूर्वबाट नेपाल फर्केका यात्रु ३,६४९ जना छन्, जबकि त्यहाँ जाने नेपालीको संख्या २,०२८ मात्र रहेको छ।

फ्लाइ दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्स जस्ता वायुसेवा कम्पनीहरूले आबुधाबी, दुबई, सारजहाँ जस्ता गन्तव्यमा छिटपुट उडान गरिरहेका छन्। यो अवधिमा विमानस्थलबाट कुल २३ उडान भएको तथ्यांक छ। तर द्वन्द्व बढेसँगै दैनिक डेढ दर्जनभन्दा बढी उडान रद्द भइरहेको बताइएको छ।

यसले मध्यपूर्व यात्रा गर्ने वा फर्कने यात्रुका लागि चुनौतीपूर्ण अवस्था सिर्जना गरेको छ।