काठमाडौं, २८ फागुन । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकलाई न्याय दिन माग गर्दै बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
राजधानीको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जात व्यवस्था मुर्दावाद’, ‘पितृसत्ता मुर्दावाद’, ‘बलात्कारीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
यसैबीच, घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको कमान्डमा सीआईबीको विशेषज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुग्ने तयारीमा छ।
प्रहरीका अनुसार हालसम्म मृतकका परिवारजनले शव बुझेका छैनन्।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ। सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



