राजनीति

बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा हेर्ने अपेक्षा

२९ फागुन, काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहले प्राप्त गरेको व्यापक जनसमर्थनको स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको जनाएको छ।

शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बालेन्द्र शाह (बालेन) को जितलाई मधेशी, थारु लगायत उत्पीडित समुदायले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, सङ्घर्ष र बलिदानको परिणामका रूपमा चित्रित गरेको हो।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले उहाँलाई प्रधानमन्त्रीका रूपमा हेर्न पाउनु हामी लामो समयदेखि सङ्घर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका लागि हर्षको विषय हो।”

बैठकले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अग्रिम शुभकामना तथा बधाई समेत ज्ञापन गरेको छ।

संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने अपेक्षा

मोर्चाले बालेन्द्र शाहको नेतृत्वबाट मधेसका पुराना र थाती रहेका मुद्दाहरू सम्बोधन हुने अपेक्षा व्यक्त गरेको छ। नेपाली जनताले विगतमा गरेका सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, लोकतन्त्र र समावेशिता लगायत उपलब्धिहरूलाई नयाँ सरकारले थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

त्यसैगरी संविधान संशोधन, प्रदेशको सीमाङ्कन हेरफेर, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा सङ्घीयतालाई अझ बलियो बनाउने जस्ता महत्वपूर्ण विषयहरू बालेनको नेतृत्वमा सम्बोधन हुने विश्वास मोर्चाले व्यक्त गरेको छ।

बैठकले सङ्घीय लोकतान्त्रिक मोर्चाका अग्रज नेता महन्थ ठाकुर हालै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकोमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएको छ।