३२ असार, काठमाडौं । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइको समस्या समाधान भएको छ। यातायात व्यवस्था विभागमा थुप्रिएको २७ लाख स्मार्ट लाइसेन्सको ब्याकलग छपाइ सम्पन्न भएको सरकारले जनाएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स छापेर उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सम्झौताअनुसार दुई चरणमा गरी २७ लाख लाइसेन्स छपाइ गरिएको हो। पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा थप १५ लाख स्मार्ट लाइसेन्स छापिएको मन्त्रालयले जनाएको छ।
अब ट्रायल उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण विभागबाट दैनिक प्राप्त हुने र त्यसकै आधारमा करिब ३ हजारदेखि ५ हजार स्मार्ट लाइसेन्स २४ घण्टाभित्र छापेर वितरण प्रक्रियामा पठाइने बताइएको छ।
सरकारले स्मार्ट लाइसेन्स छपाइसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकटलगायतका सुरक्षण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी अघि बढाएको जनाएको छ।
मन्त्रालयले यसबाट विदेशमा छपाइका लागि जाने ठूलो रकम बचत हुनुका साथै स्वदेशमै प्रविधि, रोजगारी र सेवा प्रवाहमा सुधार आउने दाबी गरेको छ।





