काठमाडौं, १ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट ९ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।
पार्टीले विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवारहरूको नाम आयोगमा पठाएको जनाएको छ। सिफारिस गरिएकामध्ये खसआर्य समूहबाट प्रमेश हमाल र बलावती शर्मा रहेका छन्।
त्यस्तै, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गता समूहबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव सिफारिस भएका छन्। दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारू समूहबाट निराशा चौधरी डगौरा सिफारिस सूचीमा परेका छन्।
निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी नाम स्वीकृत गरेपछि उनीहरू समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभाका सांसदका रूपमा निर्वाचित हुनेछन्। त्यसपछि आयोगले उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।



