२ चैत, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र डिजिटल बनाउने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ।
स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच भएको समझदारीअनुसार अब स्वास्थ्य बीमा प्रणाली क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाइने तयारी गरिएको छ। यसका लागि दुवै निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भइसकेको छ।
सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ। बोर्डले चैत २५ गतेभित्रै नयाँ दर्ता अनलाइनमार्फत सुरु गर्ने लक्ष्य राखेर आवश्यक गृहकार्य गरिरहेको जनाएको छ।
उनका अनुसार अब स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणाली लागू गर्ने तयारी भइरहेको छ।
एनआईडी प्रणालीसँग स्वास्थ्य बीमा कार्यक्रम जोडिएपछि डाटा प्रमाणीकरण सहज हुने, एउटै व्यक्तिको दोहोरो दर्ता कम हुने तथा कार्डको दुरुपयोग घट्ने अपेक्षा गरिएको छ।
हाल स्वास्थ्य बीमा कार्यक्रममा देशभरिबाट करिब एक करोड नागरिक आबद्ध भइसकेका छन्। तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा अन्य विवरण नमिल्ने तथा गलत प्रयोग हुने समस्या देखिँदै आएको छ।
एनआईडी नम्बरको आधारमा प्रणाली जोडिएपछि यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ।
डिजिटल प्रणाली विस्तार भएसँगै नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन्। भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको बताइएको छ।
नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट कम हुने तथा परिचयपत्रमा भएको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउने अपेक्षा गरिएको छ।





