१० चैत, काठमाडौं । संघीय संसद्का नवनिर्वाचित सदस्यहरूमध्ये ४७ जनाले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। संघीय संसद् सचिवालय का प्रवक्ता एकराम गिरीका अनुसार ती सांसदहरूले आ–आफ्नो मातृभाषामा शपथ लिनका लागि नाम दर्ता गराएका हुन्।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते तय गरिएको छ। यसपटक पनि विविध भाषिक पहिचान झल्किने गरी विभिन्न भाषामा शपथ लिने क्रम देखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने तयारी गरेकी छन्। त्यसैगरी उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा, कृपाराम रानाले राना थारू भाषामा शपथ लिनेछन्।
त्यस्तै गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा, विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिने भन्दै नाम टिपाएका छन्।
नेपालमा बहुभाषिक अभ्यासअनुसार अघिल्ला वर्षहरूमा पनि मातृभाषामा शपथ लिने परम्परा रहँदै आएको छ। २०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ सांसदले नेपाली बाहेकका भाषामा शपथ लिएका थिए। त्यसअघि २०६४ को संविधानसभा गठन हुँदा २६४ जनाले विभिन्न मातृभाषामा शपथ लिएका थिए।
यसपटक ४७ सांसदले मातृभाषामा शपथ लिने तयारीले संसद्मा भाषिक विविधता झल्किने अपेक्षा गरिएको छ।
यसपटक नेपाली बाहेकको भाषामा शपथ लिने ४७ सांसद







